काठमाडौँ । चिरायु नेशनल अस्पताल र मोर्डन डायग्नोष्टिक सेन्टरको प्राविधिक सहयोगमा टोखा नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कलेजो र मृगौला रोगसम्बन्धी समुदायमा आधारित स्वास्थ्य परीक्षण तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त शिविरमा दुई सयभन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा निशुल्क मृगौलाको कार्य परीक्षण (आरएफटी), कलेजोको कार्य परीक्षण (एलएफटी), भिडियो एक्स–रे, इसिजी, साथै मृगौला तथा कलेजो रोग विशेषज्ञद्वारा परामर्श प्रदान गरिएको थियो। साथै बिरामीहरूलाई निशुल्क औषधि वितरण पनि गरिएको थियो।
स्वास्थ्य शिविरमा चिरायु अस्पतालका युरोलोजिस्ट प्रोफेसर डा. उत्तम कुमार शर्मा, ग्याष्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. विधान निधि पौडेल, डा. प्रज्वल दाहाल लगायतका स्वास्थ्यकर्मीहरूले उपचार सेवा प्रदान गरेका थिए।
कार्यक्रम टोखा नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न भएको हो। स्वास्थ्य शिविरको उद्देश्य समुदायमा रहेका दीर्घरोग सम्बन्धी जोखिम पहिचान गर्दै प्रारम्भिक चरणमै उपचार र सचेतना विस्तार गर्नु रहेको थियो। स्थानीयहरूले यस्तो स्वास्थ्य कार्यक्रम आफ्नै टोलमा पाउँदा खुसी व्यक्त गरेका छन्।





