काठमाडौँ । नेपालकै नम्वर वान ब्यूटी सैलुन ‘फेसियल हाउस’ले स्थापनाको १६ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा भव्य समारोहकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।
यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसीलगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको उपस्थिति थियो ।
समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्नुहुने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले सङ्क्षिप्त मन्तव्य व्यक्त गरिन् भने बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए ।





