Nepali Maan TV
'

छोरी भेटिने आश मरेपछि एक अञ्जुली पानी चढाएरभारी मन बनाउँदै फर्किए सृष्टिका बुबा


Author Image
मङ्गलवार, भदौ १६, २०८३ ११:५०

काठमाडौँ । भोटेकोशी बाढीले दिएको पीडा शब्दमा बयान गर्न गाह्रो छ। बाढीमा धेरै परिवारले आफ्ना आफन्त गुमाएका छन् भने कतिपय परिवार अझै पनि बेपत्ता आफन्तको खोजीमा छन्।

यस्तै पीडामा छन् पोखराका एक परिवार। रसुवाको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा इन्टर्न इन्जिनियरका रूपमा काम गर्न पुगेकी २१ वर्षीया सृष्टि बास्तोला भोटेकोशी बाढीपछि सम्पर्कविहीन छिन्।

सृष्टि इन्टर्नसिपका लागि भदौ ९ गते बेलुका करिब ७ बजे आयोजनास्थल पुगेकी थिइन्। त्यसको केही घण्टापछि बिहानै आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायो। बाढीपछि सृष्टिसहित त्यहाँ रहेका केही व्यक्ति सम्पर्कविहीन बने।

छोरीसँग अन्तिमपटक घटनाको अघिल्लो रात करिब ९ बजे परिवारको सम्पर्क भएको थियो। त्यसपछि फोन लागेन। परिवारले सुरुमा छोरी सम्पर्कमा आउने आशा गर्दै चार दिनसम्म घरमै बसेर खबर कुर्‍यो। तर कुनै खबर आएन।

अन्ततः सृष्टिका बुबा परिवारसहित रसुवा पुगे। बेत्रावतीमाथिको डाँडामा पुगेर आयोजनास्थलतर्फ हेर्दा उनले देखेको दृश्यले उनलाई झन् भावुक बनायो।

जहाँ पहिले आयोजनाका थुप्रै भवन र संरचना थिए, त्यहाँ अहिले एउटा मुख्य भवनबाहेक धेरै संरचना देखिँदैनन्। बाढीले भवनहरू डुबाएकोभन्दा पनि बगाएर लगेको जस्तो देखिएको उनका बुबाको भनाइ छ।

छोरी भेटिने आशा बोकेर घटनास्थल पुगेका उनी त्यहाँबाट फर्किँदा पनि छोरीको कुनै खबर पाउन सकेनन्। डाँडामै उनले हातको अञ्जुलीमा पानी लिएर छोरीलाई सम्झिए र पानी चढाए।

उनलाई अझै पनि सृष्टि त्यही क्षेत्रमा कतै हुन सक्ने आशा छ। त्यसैले आयोजनास्थल र आसपासको भग्नावशेषलाई अझ गहिराइसम्म खोज्नुपर्ने उनको माग छ। बाढीपछि भेटिएका केही श’वसमेत फेरि पानीले बगाएर लगेको स्थानीयबाट सुनेको उनले बताए।

सृष्टि काठमाडौं विश्वविद्यालयमा अध्ययनरत थिइन्। इन्टर्नसिप सकेर असोज २१ गते घर फर्किने तयारीमा थिइन्। तर उनको त्यो योजना पूरा हुन पाएन।

अहिले परिवारको एउटै चाहना छ—सृष्टिसहित सम्पर्कविहीन सबैको खोजी तीव्र बनोस्। भग्नावशेषभित्र छोरीको कुनै अंश भए पनि भेटिन्छ कि भन्ने आश परिवारले अझै छाडेको छैन।

प्रतिक्रिया (०)

सम्बन्धित खबर