Nepali Maan TV
'

होटल सब्रिनाको पाँचतारे यात्रा, २ अर्ब १४ करोडको लगानी योजना


Author Image
आइतवार, असोज ४, २०८३ ११:४२

काठमाडौँ । बुढानीलकण्ठमा रहेको होटल सब्रिना अब अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवातर्फ अघि बढ्ने तयारीमा छ। शुक्रबार सम्पन्न आठौँ वार्षिक साधारणसभामा सार्वजनिक तथ्यांकले पनि होटलको यही यात्रालाई थप बलियो देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा होटलको कुल आम्दानी १४ दशमलव ५ प्रतिशतले बढेर ८ करोड १८ लाख रुपैयाँ पुगेको छ। कुल नाफा ३१ दशमलव ३ प्रतिशतले बढेर ४ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा दोब्बरभन्दा बढी बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ।

अझ महत्वपूर्ण कुरा, अघिल्लो वर्ष ३ करोड १६ लाख रुपैयाँ रहेको घाटा अहिले घटेर १ करोड ३३ लाख रुपैयाँमा आएको छ। अर्थात्, घाटा करिब ५८ प्रतिशतले घटेको छ। प्रतिशेयर घाटा पनि ८ रुपैयाँ ९० पैसाबाट घटेर २ रुपैयाँ ३ पैसामा झरेको छ।

अब होटलको नजर अझ ठूलो लक्ष्यमा छ। एकोरको ‘ट्राइब’ ब्रान्डसँग सहकार्य गर्दै होटललाई अन्तर्राष्ट्रिय मापदण्डको पाँचतारे होटलका रूपमा विकास गरिँदैछ।

करिब २ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा १०० वटा कोठा, ४ वटा रेस्टुरेन्ट र ५०० देखि ६०० जनासम्म अट्ने रुफटप बैंक्वेट हलसहितका सुविधा थपिनेछन्। त्यस्तै, स्वीमिङ पुल, स्पा, हेल्थ क्लब र जिमजस्ता सुविधा पनि रहनेछन्।

होटलको रुफटपबाट काठमाडौं उपत्यकाको रमणीय दृश्य नियाल्न सकिनेछ। परियोजना सन् २०२७ को अन्त्यसम्म पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

यता, कम्पनीले ४७ लाख ४ हजार कित्ता साधारण सेयर आईपीओमार्फत निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

परियोजनाका लागि एभरेस्ट बैंकबाट ९० करोड रुपैयाँ ऋण स्वीकृत भइसकेको छ भने प्रमोटरबाट ७५ करोड रुपैयाँ पुँजी जुटिसकेको छ। अहिले कम्पनीको नेटवर्थसमेत करिब ९६ रुपैयाँ रहेको छ।

आईपीओमार्फत थप पुँजी जुटेपछि होटलको स्तरोन्नति प्रक्रियालाई थप गति दिन सकिने र निर्धारित योजनाअनुसार पाँचतारे स्तरमा सञ्चालनमा ल्याउन सहज हुने होटल सब्रिनाका अध्यक्ष निराजन थापाको भनाइ छ।

बुढानीलकण्ठको बढ्दो पर्यटन सम्भावना, अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्य, सुधार हुँदै गएको सञ्चालन नाफा र विस्तार हुँदै गरेको पूर्वाधारले होटल सब्रिनाको आगामी यात्रालाई थप फराकिलो बनाउँदै लगेको छ।

अन्तर्राष्ट्रिय ब्रान्ड, पाँचतारे लक्ष्य र बलियो हुँदै गएको वित्तीय आधारसँगै होटल सब्रिना काठमाडौंको आतिथ्य क्षेत्रमा नयाँ सम्भावनाको यात्रामा अघि बढिरहेको छ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर