Nepali Maan TV
'

अमेरिकामा भोली हुने दशैं तिहार महोत्सव २०२४ मा टिकट १५ डलर


Author Image
शनिवार, असोज १९, २०८१ ९:२४

काठमाडौं । अमेरिकाको डिसी महानगर क्षेत्रमा अक्टोबर ५ अर्थात भोली हुने दशैं तिहार महोत्सव २०२४ को प्रतिक्षाको घडी सकिएको छ । लामो समय देखि यस महोत्सवको प्रतिक्षामा रहेका हजारौँ नेपाली दर्शकले भोली शनिबार नेपालका लोकप्रिय कलाकारहरु प्रमोद खरेल, अन्जु पन्त, निमा रुम्बा, मिलन नेवार लगायतको प्रस्तुती हेर्न पाउने भएका छन् ।

भोली हुने सांस्कृतिक कार्यक्रममा नेपालका स्थापित र चर्चित कलाकारहरुको लाइभ म्युजिकले अमेरिकाको भर्जिनिया विशेष हुनेछ । यस महोत्सवमा १५ डलरको मात्र टिकट राखिएको छ । भिआइपी टिकटको भने १०० डलरको टिकट काटेर विशेष प्रस्तुती हेर्न सकिनेछ । साथै १०० डलरको टिकट खरिद गर्नेले कलाकारहरुसंग भेटघाट गर्न समेत पाउने छन् ।

कार्यक्रममा नेपालका चर्चित कलाकारको लाइभ म्युजिकका साथै पहिलो पटक लाइभ दोहोरी समेत हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइनेछ ।

अमेरिकामा रहेका सबै नेपाली दर्शकलाई जोड्ने उदेश्यले उक्त कार्यक्रम हुन लागेको हो । नेपालको कला संस्कृतिलाई अमेरिकामा प्रर्वधन गर्ने उदेश्यले आयोजना गरिने हुनाले यस कार्यक्रममा नेपालको कला संस्कृति झल्किने पोशाक, खेल, गहना, खानाको परिकार, चंगा फेस्टिवल आदी हुनेछन् ।

कार्यक्रममा १० वर्ष मुनीका र ६५ वर्ष माथि उमेरकालाई निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ । थ्री इन्टरटेनमेन्टद्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी मनाससमा हुदैँछ । यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर