काठमाडौँ । पछिल्लो समय टिकटकबाट उदाएका नेपाली म्युजिक भिडियोका मोडलहरु धमाधम फिल्ममा डेब्यु गर्दैछन् । त्यसैमध्येका ४ जना मोडल जो हाल म्युजिक भिडियो हुँदै चलचित्रमा डेब्यु गर्दैछन्, उनीहरुकै बारेमा चर्चा गर्दैछौँ ।
सनिशा भट्टराई
सनिशा पछिल्लो समय म्युजिक भिडियोमा नाम चलेकी मोडल हुन् । तर उनको मोडलिङ यात्रा भने टिकटकबाट भएको थियो । टिकटकमा सर्वाधिक रुचाइएकी सनिशाले अहिले म्युजिक भिडियोबाट चर्चा बटुलिरहेकी छिन् । तर उनै सनिशा अब भने फिल्ममा समेत देखिने भएकी छन् । उनले अभिनेता विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’बाट नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् । सनिशासँगको तस्बीर सेयर गर्दै उनले लेखेका छन् -‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो ‘१२ गाउँ’ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’
त्यसो त सनिशा चर्चित गीत ‘ए होर माया’, र ‘तिमीलाई हेर्ने बानी पर्यो बोलको गीतबाट चर्चामा आएकी हुन् । त्यसपछि पनि सनिशाले थुप्रै गीतमा अभिनय गरिसकेकी छन् । अब भने चलचित्र ‘१२ गाउँ’बाट उनी फिल्मको पर्दामा उदाउन लागेकी हुन् । यस फिल्ममा सनिशाको जोडीका रुपमा विराज भट्टका आफ्नै छोरा समीर भट्ट पनि देखिने छन् । समीरको पनि यो डेब्यु फिल्म हो । एक्सन थ्रिलर जनरामा बन्ने यस फिल्ममा सनिशाको प्रस्तुती कस्तो हुनेछ, त्यो भने हेर्न बाँकी नै छ ।
कुसुम शर्मा
त्यसो त कुसुम शर्मा गायक प्रकाश सपूतको ‘सकम्बरी’ बोलको गीतबाट चर्चामा आएकी हुन् । उनलाई यस गीतमा धेरैले संभावना बोकेकी कलाकारको रुपमा हेरेका थिए र त्यसपछि पनि उनले प्रकाश सपुतकै अर्को गीत ‘मुटु कटक्कै’मा पनि अभिनय गरेकी थिइन् । र त्यसबाट पनि उनी सर्वाधिक चर्चामा आउन सफल भईन् । उनै कुसुमले पछिल्लो धेरै गीतहरुमा अभिनय गरिसकेकी छन् । तर अब उनीपनि चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेकी छिन् ।

उनी चलचित्र ‘बर एण्ड बधु’बाट चलचित्रमा डेब्यु गर्दैछिन् । हाल यस चलचित्रको छायांकन चलिरहेको छ । ‘बर एण्ड बधु’ले सामाजिक कथालाई देखाउने भएपनि कुसुमको भुमिका के छ भन्ने बारेमा भने खासै केहीपनि खुलाइएको छैन ।
मिस पवी
टिकटकबाट भाइरल बनेकी पवित्रा शाकी अर्थात् मिस पवीले थुप्रै म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् र अहिले उनी म्युजिक भिडियोमा जमिरहेकी पनि छन् । तर उनै मिस पवीले अब भने फिल्ममा पाइला राखेकी छन् । उनले चलचित्र राजमहलबाट डेब्यु गर्न लागेकी हुन् । ‘राजमहल’मा अनुबन्ध भएकी मिस पवीको फिल्मको छायांकन भने सुरु भएको छैन । दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ ।

गरिमा शर्मा
मोडल गरिमा शर्मा पनि म्युजिक भिडियोबाट नै चलचित्रमा आउने तयारीमा छिन् । उनको डेब्यु चलचित्र ‘लण्डन टु पेरिस’ रिलिजको संघारमा रहेको छ । उक्त चलचित्र प्रदर्शन नहुँदै उनी अर्को फिल्म ‘दौतरी’मा समेत अनुबन्धित भइसकेकी छिन्। यस फिल्ममा गरिमा मुख्य भूमिकामा देखिने निर्देशक मधुसुधन भट्टराईले जानकारी दिएका छन्। त्यसो त गरिमा नेपाली म्युजिक भिडियोमा चलेकी मोडल हुन् । र उनीपनि कुनैबेला टिकटकबाट नै चर्चामा आएकी थिइन् । र उनै गरिमाको अब नयाँ फिल्मी यात्रा कस्तो हुन्छ । त्यो भने हेर्न बाँकी नै छ ।


