Nepali Maan TV
'

बाढी प्रभावित क्षेत्रमा भेटिएका ‘ग्रीन आर्मी’ समूह को हुन् ?


Author Image
मङ्गलवार, भदौ १६, २०८३ ११:०९

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा भेटिएका ग्रिन आर्मी समूह को हुन्? अहिले सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रमा देखिएका ग्रिन आर्मी समूहबारे विभिन्न चर्चा भइरहेको छ। केही मिडियाले त नेपालमा ग्रिन आर्मी नामको नयाँ समूह आएको भन्दै भिडियो र समाचारसमेत बनाइरहेका छन्। त्यसमा कतिपयले नबुझिकन ‘टीओबीको अर्को समूह हो कि? नेपालमा कहाँबाट आयो यो ग्रिन आर्मी?’ भन्दै टिप्पणी गरिरहेका छन्।

तर वास्तविकता त्यस्तो होइन। ग्रिन आर्मी कुनै सेना होइन। यो कुनै राजनीतिक समूह वा बाहिरबाट परिचालित नयाँ टोली पनि होइन। यो त तपाईँ हाम्रै गाउँ, सहर र नगरमा पहिलेदेखि नै गठन भएका स्वयंसेवक समूह हुन्।

खासगरी वातावरण संरक्षण, सामाजिक सेवा र विपद्का बेला समुदायलाई सहयोग गर्ने उद्देश्यले ग्रिन आर्मीका स्वयंसेवकहरू विभिन्न जिल्लामा परिचालित हुँदै आएका छन्। उनीहरूले सरसफाइ, वृक्षरोपण, जनचेतना, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनजस्ता काममा सहभागिता जनाउँदै आएका छन्।

नेपालका धेरै स्कुलहरूमा स्काउट भनेजस्तै ग्रिन आर्मी गठन भएका छन्। त्यहाँ स्कुले बालबालिकादेखि कलेज पढ्ने विद्यार्थीहरू सहभागी छन्।

अहिले भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि यही समूहका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेका हुन्। उनीहरू सुरक्षाकर्मीको विकल्पका रूपमा होइन, स्वयंसेवकका रूपमा उद्धार तथा राहतमा सहयोग गरिरहेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा फोहोर तथा लेदो हटाउने, राहत सामग्री वितरणमा सहयोग गर्ने, मानिसलाई सुरक्षित स्थानमा लैजान सहयोग गर्ने र आवश्यक ठाउँमा सरसफाइ गर्ने जस्ता काममा उनीहरू देखिएका छन्।

त्यसैले सामाजिक सञ्जालमा देखिएको हरियो पोसाक र ‘ग्रिन आर्मी’ नाम देखेर यसलाई कुनै नयाँ सुरक्षा बल वा गोप्य संगठनका रूपमा बुझ्नु गलत हुन्छ। ग्रिन आर्मी नाम सुन्दा सेना जस्तो लाग्न सक्छ। तर यसको मुख्य उद्देश्य समुदायमा स्वयंसेवाको भावना विकास गर्नु र विपद् वा संकटका बेला मानिसलाई सहयोग गर्नु हो।

अहिले बाढीले धेरै परिवारलाई समस्यामा पारेका बेला यस्ता स्वयंसेवक समूहले स्थानीयस्तरमा गरिरहेको सहयोग महत्वपूर्ण हुन्छ। त्यसैले कुनै समूहबारे जानकारी नलिई अनुमान वा अनावश्यक टिप्पणी गर्नुभन्दा उनीहरू को हुन् र के काम गरिरहेका छन् भन्ने बुझ्नु आवश्यक छ।

प्रतिक्रिया (०)