काठमाडौँ । ‘नेपाली ब्रो’ र ईश्वरी भुजेलबीच बिहे भएको झण्डै १५ वर्ष भइसकेको थियो । बाहिर नेपाली ब्रो नामले चिनिएका उनको वास्तविक नाम भने कुमार थापा हो । ४२ वर्षका कुमार नेपाली रेस्लिङ खेलाडी पनि हुन् । यता श्रीमती ईश्वरी भने नेपाली सेनामा सुबेदार मेजर पदमा कार्यरत थिइन् । उनी छाउनी अस्पतालमा कार्यरत थिइन् ।
विवाहका केही वर्षहरू राम्रैसँग बिते पनि केही समयपछि भने कुमारले बाहिरी युवतीहरूसँग सम्बन्ध बढाउन थालेका थिए । यसै क्रममा करिब १ वर्षअघि कुमार एक युवतीसँग रंगेहात फेला परे । जन्मदिनको दिनमा होटल म्यारियटमा परस्त्रीसँग फेला परेपछि ईश्वरीले तत्कालै कुमार र ती युवतीलाई प्रहरी बोलाएर थानामा लगेकी थिइन् । यही काण्डमा कुमार हिरासतमा बसेर १ वर्षअघि निस्किएका थिए ।
श्रीमतीले आफूलाई हिरासत पुर्याएपछि कुमार श्रीमतीसँग चिढिएका थिए । केही अन्तर्वार्ताहरूमा उनले त्यसपछि श्रीमतीले आफूलाई माया नगर्ने रहिछिन् भन्ने आभास भएको बताएका थिए । त्यही बेला कुमार रेस्लिङ प्रतियोगिताका लागि जापान जाने तयारीमा थिए । तर श्रीमतीले हिरासत पुर्याएपछि कुमारको जापान गएर खेल खेल्ने सपना तुहियो । यो कुराले पनि कुमारलाई भित्रभित्रै श्रीमतीप्रति प्रतिशोधको भाव जागृत गराइरहेको थियो ।
त्यसो त कुमार त्यसअघि पनि युवतीहरूसँग बोल्ने, भेट्ने गरेको कुरा ईश्वरीले सुनेकी थिइन्, कतिपय फोनमा हुने म्यासेजहरू उनले भेटेकी पनि थिइन् । तर उनले त्यसलाई सामान्य रूपमा सहिन् पनि । तर आफ्नै आँखाले कुनै युवतीसँग रंगेहात फेला परेपछि भने उनले त्यो सहन सकिनन् । विवाह गरेको यतिका वर्ष भइसकेको र २ छोराकी आमा समेत भइसकेकी श्रीमतीलाई यो कुरा सह्य हुने कुरा पनि भएन ।
यो घटनापछि उनले श्रीमान् सुध्रिन्छ कि भन्ने सोचेकी थिइन्, तर कुमार सुध्रिएनन् । त्यसपछि पनि उनी अन्य युवतीहरूसँग हिँड्न थाले । केही युट्युबरहरूसँग बसेर उनले युवतीहरूसँग छाडा कुरा गर्ने गर्थे भने श्रीमतीबारे भने गुनासो पोखिरहन्थे । कतिपय युवतीहरूसँग त ईश्वरी झगडा समेत गरिन् ।
अन्तमा हार खाएर उनी कुमारसँग सम्बन्धविच्छेद गर्ने निष्कर्षमा पुगिन् र जिल्ला अदालत काठमाडौंमा डिभोर्स फाइल गरिन् । श्रीमतीले डिभोर्स फाइल गरेपछि झन् कुमार श्रीमतीसँग बदलाको भावमा पुगे । उनी कुनै पनि हालतमा ईश्वरीलाई डिभोर्स दिन चाहँदैनथे । कारण थियो, उनको घर । आफ्नो कमाइले बनाएको सम्पत्तिको नाममा रहेको एकमात्र घर उनले श्रीमतीलाई समेत दिनुपर्ने हुन्थ्यो । सम्पत्ति समेत बाँड्नुपर्ने कानुनी अवस्था आउने भएपछि उनी कुनै पनि हालतमा डिभोर्स नगर्ने मुडमा थिए ।
यही कुरालाई लिएर ५–६ महिनाअघि उनले श्रीमतीमाथि शारीरिक र मानसिक हिंसा गर्न थालेका थिए । उनी आफूखुसी घर जाने र श्रीमतीलाई कुट्नेपिट्ने, जबर्जस्ती शारीरिक सम्बन्ध राख्ने गर्न थालेपछि ईश्वरीले कुमारमाथि बलात्कारको जाहेरी समेत दिएकी थिइन् । तर पनि बारम्बार कुमारको यातनाको तह बढ्दै गयो । अब ईश्वरीलाई कुट्नेपिट्ने कुरा उनको लागि सामान्य भयो ।
आमामाथि बुबाले गरेको यस्तो अत्याचार र हर्कत देखेर साना छोराले समेत बुबा भन्न छाडेका थिए । आफूमाथिको शारीरिक र मानसिक हिंसा अत्यधिक भएपछि ईश्वरी कैयौँ पटक बालाजु प्रहरी गुहार्न पुगिन् । तर प्रहरीले ईश्वरीको पीडालाई बुझ्नै खोजेन र कुमारविरुद्ध मुद्दा दर्ता गर्नै मानेन । बरु ‘नेपाली ब्रो, के छ ब्रो ?’ भन्दै प्रहरीले हात मिलाउन पुग्थे । जसको परिणामस्वरूप एउटा आपराधिक मानसिकता भएको कुमारलाई श्रीमती मार्ने आत्मबल पुग्यो । र उनी श्रीमती मार्न तयार भए ।
यसै क्रममा शुक्रबार अदालतमा उनीहरूको डिभोर्सको अन्तिम सुनुवाइ थियो । सुनुवाइमा कुमारले कुनै पनि हालतमा आफूले डिभोर्स नदिने बताएका थिए । यता श्रीमतीले भने कुमारले गरेका सबै अत्याचारको फेहरिस्त न्यायाधीशसामु सुनाएकी थिइन् । त्यसपछि अब कुनै पनि हालतमा श्रीमतीले डिभोर्स लिने देखेपछि कुमार ईश्वरीलाई जसरी पनि सिध्याउने मुडमा पुगे र उनी श्रीमती आउने बाटो ढुकेर बसे ।
साँझ ईश्वरी आफू कार्यरत छाउनी अस्पतालबाट तारकेश्वर नगरपालिका–स्थित लोलाङ पैयुँटारको घर जान स्कुटरमा निस्किइन् । ईश्वरी निस्किनेबित्तिकै बाटो ढुकेर बसेका कुमार उनको पिछा गर्न थाले । त्यतिबेला रातको करिब १० बज्न लागेको थियो । उनी ईश्वरीले थाहा नपाउने गरी पिछा गर्दै गए र करिब १० बजेर १० मिनेट जाँदा घर नजिकैको उकालोमा उनले ईश्वरीको स्कुटरलाई पछाडिबाट ठक्कर दिएर लडाए र एक्कासि गाडीबाट झरेर खुकुरी हान्न थाले ।
उनले घाँटीमा ताकेर हानेका थिए तर ईश्वरीले हातले छेकेपछि उनको हातमा लाग्यो । खुकुरीको चोटले ईश्वरीको हात छिनिनै लागेको थियो । त्यसपछि फेरि कुमारले ईश्वरीको गर्दनमै ताकेर खुकुरी अन्धाधुन्ध नचाए । अन्ततः ईश्वरी मध्यरातमा चिच्याउँदै घरको गेटमा ढलिन् । उनको चिच्याहटले स्थानीयहरू बाहिर निस्किन थालेपछि कुमार त्यहाँबाट भागे ।
तत्काल स्थानीयले उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याए । तर घाँटीमा गम्भीर चोट पुगेको र अत्यधिक रक्तस्राव भइसकेकाले चिकित्सकले उनलाई बचाउन सकेनन् । अन्ततः ईश्वरीले रातको ११ बजेतिर प्राण त्यागिन् ।
ईश्वरीलाई खुकुरी हानेपछि कुमार भने सिधै बालाजु प्रहरी वृत्त पुगेर ‘मैले श्रीमती मारेँ’ भन्दै गिरफ्तार दिए । अहिले कुमार प्रहरी हिरासतमा छन् । गोरखा माइती भएकी ईश्वरीका आफन्त यो खबर सुनेर गोरखादेखि रातारात काठमाडौं आइपुगेका छन् ।
मृतक ईश्वरीका आफन्त भन्छन्, “आज हाम्री छोरी मारिनुमा बालाजु प्रहरीको पनि हात छ ।” ईश्वरीले ५ पटकसम्म जाहेरी लिएर प्रहरीकहाँ गुहार माग्न आउँदा पनि बेवास्ता गरिएको भन्दै उनीहरूले प्रहरीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

