काठमाडौं — ‘सीपलाई समाधानसँग जोड्ने’ नारासहित मोबाइल ग्यारेज टिमले नयाँ डिजिटल सेवा ‘मोबाइल ग्यारेज एप’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एपको शुभारम्भ गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एपले नेपालको जुनसुकै सडक यात्रा क्रममा गाडी बिग्रिएमा त्यही स्थानमा मेकानिक पठाइ सहयोग पुर्याउने बताए।
उनका अनुसार नेपालमा यस प्रकारको सेवा पहिलोपटक सुरु गरिएको हो, जसले सवारी चालकहरुलाई आकस्मिक अवस्थामा छिटो र भरपर्दो समाधान उपलब्ध गराउनेछ। “गाडी बिग्रिएपछि ग्यारेजसम्म तान्नुपर्ने बाध्यता अब हट्छ। यात्रा बीचमै समस्या आए पनि एपमार्फत मेकानिक बोलाउन सकिन्छ,” गजुरेलले भने।
यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै गजुरेलले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गरे। उनले मापसे चेकजाँचलाई प्रभावकारी बनाएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिंदै अब यस प्रक्रियालाई पनि आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले प्रविधिले व्यापारदेखि आर्थिक कारोबारसम्म सहजता बढाएको बताउँदै मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी संचालन भइरहेका ग्यारेजहरुको समस्या समाधान गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे।

