काठमाडौं । नेपालको सबैभन्दा होचो स्थान झापाको कचनकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्मको पदमार्ग प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्री ‘जिरो टु ८८४८’ (Zero to 8848) को टिजर सार्वजनिक गरिएको छ।
सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा आयोजित कार्यक्रममा निर्माताले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्।
समुन्द्री सतहबाट ५८ मिटर उचाइमा रहेको कचनकवलदेखि ८८४८ मिटर उचाइको सगरमाथा चुचुरोसम्म ९० दिन लगाएर तयार पारिएको यो डकुमेन्ट्रीले नयाँ पदमार्गबारे विश्वलाई जानकारी दिने उद्देश्य राखिएको छ।
‘जिरो टु ८८४८’ नाम दिइएको ५१० किलोमिटर लामो उक्त रुटले नयाँ पदमार्गबारे परिचय गराउनुका साथै विश्वव्यापी तापक्रम वृद्धिबारे सचेतना फैलाउने र भौगोलिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको संचारकर्मी तथा अभियान अगुवा प्रेम बानियाँले बताए।
‘एउटै पदमार्गमा हामीले तराई, पहाड र हिमालको जीवन्त संस्कृति भेट्नेछौं। यो मार्ग अध्ययनको विषय पनि बन्न सक्छ,’ डकुमेन्ट्रीबारे बानियाँले भने, ‘यो वृत्तचित्र फिल्म मात्र होइन, भावना र दर्शन पनि हो।’
लामो समयदेखि अमेरिकामा बस्दै आएका बानियाँ डकुमेन्ट्रीको प्रचारका लागि अहिले काठमाडौंमा छन्।

निरञ्जन पाण्डे र बलराम बुढाथोकी निर्देशित यो डकुमेन्ट्री अगस्टमा अमेरिकी हलहरूमा रिलिज हुने बताइएको छ। हल रिलिजको एक सातापछि यो कुनै एक ओटीटी प्लेटफर्ममा समेत सार्वजनिक गरिने बानियाँले जानकारी दिए। नेपालमा भने सन् २०२६ को जनवरीमा प्रदर्शन हुने तयारी गरिएको छ।
डकुमेन्ट्रीमा १८ पटक सगरमाथा आरोहण गरेका टेन्डी शेर्पादेखि विश्व साइकलयात्री पुष्कर शाहसम्म जोडिएका छन्। मुन्धुम ट्रेलको क्रममा बानियाँलाई भेटेपछि आफू डकुमेन्ट्रीमा संलग्न भएको शाहले बताए।
‘नेपालबारे धेरैले गहिराइमा बुझ्न सकेका छैनन्। यो डकुमेन्ट्रीले देशबारे धेरै कुरा बताउँछ,’ टेन्डीले भने।
यस डकुमेन्ट्रीमा चर्चित हलिउड फिल्ममेकर तथा पर्वतारोही कोनराड एन्कर पनि सहभागी छन्। उनले फिल्ममा प्रशिक्षकको भूमिकामा काम गरेका छन्।
पदमार्ग स्थापनाका लागि विभिन्न देशहरूको अनुभव र व्यवहारिक पक्षबारे लामो समयसम्म अध्ययन र अनुसन्धान गरिएको बानियाँले बताए।

उक्त रुट झापाको कचनकवलदेखि सुरु भएर इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे र हिले बजार हुँदै भोजपुरको मुन्धुम ट्रेल पार गरेर खोटाङको हलेसी, ओखलढुंगा पुग्छ।
त्यसपछि सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा, सुर्के, फाक्दिङ, मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेप हुँदै कालापत्थर र बेसक्याम्प पुगिन्छ। त्यसपछि क्रमशः क्याम्प १, २, ३, ४ (साउथ कोल), हिलारी स्टेप हुँदै अन्ततः ८८४८ मिटर उचाइको सगरमाथा शिखरमा पुगिन्छ।
डकुमेन्ट्रीको सम्पादन, प्रमुख छायांकन तथा निर्देशन निरञ्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन्।

छायाकारमा केशव निरौला र उमंग शाही छन्। वरिष्ठ छायाकार निरौला १५ वर्षदेखि न्यूज २४ टेलिभिजनमा कार्यरत छन्।
श्री वाग्ले कार्यकारी निर्माता हुन् भने प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्।


भिडियो

