पोखरा । पोखरा महानगरपालिका–२६ मा ४५ दिने डिजिटल प्रविधि तालिम बिहीबार सम्पन्न भएको छ। तालिमको अन्तिम दिन विशेष कार्यक्रमसहित समापन गरिएको हो।
कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. सन्तोष कोइरालाले डिजिटल क्षेत्रमा काम गर्न सक्ने जनशक्तिको अभाव रहेको बताए। उनले भने, “डिजिटल सीप भएकाले बेरोजगार बस्नुपर्दैन।” साथै, युवापुस्ताले विज्ञान र प्रविधिमा अझै रुचि लिनुपर्नेमा उनले जोड दिए।
गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा पनि स्थानीय सरकारको ध्यान जानु पर्ने बताए। उनले अहिलेका युवामा प्रश्न गर्ने भन्दा पनि मौन बस्ने बानी देखिएको उल्लेख गरे।

युवा वैज्ञानिक विकल्प ढुंगानाले कुनै पनि सीप सिकेपछि त्यसलाई निरन्तर अभ्यास गर्नु जरुरी भएको बताए। “एक पटक उत्सुक भएर सिके पनि त्यसलाई नियमित अभ्यास नगरे सफल भइँदैन,” उनले भने।
कार्यक्रमको अध्यक्षता गरेका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले वडालाई प्रविधिमैत्री बनाउने योजना अघि बढाइएको बताए। उनले भने, “युवाले प्रविधि सिकेपछि त्यसलाई आम्दानीको माध्यम बनाउनुपर्छ।” उनले वडाभित्रका तीन सामुदायिक विद्यालयमा ‘बुक फ्री डे’ कार्यक्रममार्फत प्रविधिमा आधारित सीप विकास गरिरहेको जानकारी दिए।
कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, पोखरा विश्वविद्यालयका आईटी विभाग संयोजक डा. राममणि अधिकारी, कन्टेन्ट क्रिएटर अमृत थापा, लक्ष्मी आदर्श मा.वि का व्यवस्थापन समिति अध्यक्ष चतुराखर अधिकारी, सूचना अधिकारी नवराज सापकोटा र कार्यक्रम संयोजक इन्जिनियर सन्दिप पौडेल लगायतले पनि आफ्ना धारणा राखेका थिए।
तालिममा भिडियो सम्पादनमा ३१ जना, ग्राफिक्स डिजाइनमा ४५ जना, रोबोटिक्समा २९ जना र व्यक्तित्व विकास तालिममा १८ जना सहभागी थिए।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले बनाएको रिमोट कन्ट्रोल रोबोटमार्फत रिबन काटेर उद्घाटन गरिएको थियो। कार्यक्रममा उनीहरूले बनाएको ६ वटा रोबोट प्रोजेक्ट, चाडपर्वसम्बन्धी ग्राफिक्स डिजाइन र छोटा डकुमेन्ट्रीहरू प्रदर्शनीमा राखिएको थियो।
त्यस्तै, तालिम लिएका विद्यार्थीहरूले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा ‘स्मार्ट कृषि’ र ‘स्मार्ट डस्टबिन’ प्रोजेक्टमार्फत दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए। उनीहरूलाई वडाध्यक्ष थापाले सम्मान गरेका थिए।

