Nepali Maan TV
'

पत्रकार सबिना कार्कीको दुबै आँखामा गम्भीर चोट


Author Image
आइतवार, वैशाख १४, २०८२ ८:५७

काठमाडौं । शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको आँखामा गम्भीर चोट लागेको पुष्टि भएको छ। हाल उनी तिलगंगा आँखा अस्पतालमा उपचाररत छन्

उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठका अनुसार दुबै आँखाको लेन्स सुन्निएको छ र आँखाभित्र रगत जमेको (हाइफिमा) देखिएको छ। उनले भनिन्, “आँखाभित्र रगत जमेकाले भिजन अत्यन्तै कम भएको छ। आँखाको छालाको माथिल्लो भाग समेत च्यातिएको छ र चोटका कारण आँखाको प्रेसरसमेत बढेको छ।”

डा. श्रेष्ठका अनुसार चोट र हाइफिमाका कारण आँखाको रेटिनाको अवस्था समेत पूर्णरूपमा अवलोकन गर्न सकिएको छैन। उनले भनिन्, “आँखाको नसाको भागसम्म चाहिँ देखिएको छ तर रेटिना कस्तो छ भन्ने स्पष्ट थाहा पाउन सकिएको छैन।”

हाल कार्कीलाई औषधि उपचार सुरु गरिएको छ। डा. श्रेष्ठका अनुसार, “रगत जमेको अवस्था कम भएपछि मात्रै रेटिनाको वास्तविक स्थिति पत्ता लगाउन सकिन्छ। औषधिले कस्तो असर गर्छ भन्ने आधारमा मात्र आगामी उपचारको योजना तय गरिनेछ।”

भिडियो एक्सरेबाट हेर्दा आँखाको पर्दा च्यातिएको देखिएको छैन। तर रगत जमेको र सुन्निएको कारण आँखाको नानी वरिपरिका भाग राम्ररी देखिएको छैन। उनले थप भनिन्, “बाहिरी छाला र झिल्लीमा लागेको चोट निको भएपछि मात्र सर्जरी आवश्यक पर्ने हुन सक्छ। त्यसपछि एन्टिबायोटिक र स्टेरोइड जस्ता औषधिहरु प्रयोग गरिनेछ।”

साथै, थप परीक्षणका लागि सीटी स्क्यान समेत गरिने डा. श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार, “अहिले नै आँखाको अवस्था नर्मल भनी भन्न सकिँदैन। भिजन अत्यन्तै कम भएको छ र पछाडि पर्दामा धेरै चोट लागेको भए निको हुन लामो समय लाग्न सक्छ।”

प्रतिक्रिया (५६)

सम्बन्धित खबर