Nepali Maan TV
'

ठमेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न


Author Image
शनिवार, चैत १, २०८१ ७:४१

काठमाडौँ – काठमाडौँको ठमेलस्थित नर्सिङचोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौँ ठमेल ईविजाको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं. २६, ठमेल पर्यटन विकास परिषद, किवानिस क्लब अफ नेपाल होराइजन, त्रिदेवी मार्ग उपसमिति र क्लब एण्ड डिस्को व्यापार संघको सहयोग र हिमालय ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राविधिक सहयोगमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो। लायन्स क्लब अफ ठमेल ईविजाका अध्यक्ष सिताराम पोखरेलका अनुसार, रगत अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उनले भने, “रक्तदान सबैभन्दा ठूलो मानव सेवा हो, जसले धेरैको जीवन बचाउन सक्छ। यस्तो कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ।”

लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ ठमेल ईविजाको लायन तथा लायन बर्ष २०२४/२५ को जोन चियरपर्सन मोहन श्रेष्ठले हरेक वर्ष मानव सेवाका कार्यअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिए। उनले आगामी नोभेम्बर र डिसेम्बर महिनामा पनि रक्तदान कार्यक्रम आयोजना गरिने बताए ।

लायन्स क्लब अफ ठमेल युनाइटेडका अध्यक्ष राजुमान डंगोलले देशभर रगतको अभाव रहेको वर्तमान परिस्थितिमा यो अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

रक्तदान कार्यक्रमबाट ७३ पिन रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रममा संकलित रगत हिमाल हस्पिटल ब्लड बैंकमा पठाइने छ। रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि प्रयोग गरिएको आयोजक संस्थाले जनाएको छ। रक्तदान जागरूकता बढाउने उद्देश्यले आगामी नोभेम्बर र डिसेम्बर महिनामा पनि यस्ता कार्यक्रम आयोजना गरिने योजना रहेको आयोजकहरूले बताएका छन्।

सहभागी रक्तदाताहरूले रक्तदान जीवनदान भएको भन्दै आगामी दिनमा यस्ता अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया (२९)

सम्बन्धित खबर