काठमाडौं – नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिता ए डिभिजन क्लब सङ्कटाले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडनडेथमा ४–३ गोलअन्तरले पराजित गर्दै सङ्कटाले उपाधि उचालेको हो।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टीमा दुवै टिमले ३–३ गोल गरेपछि खेल सडनडेथमा धकेलियो। सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले रोके। तर, सङ्कटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गर्दै टिमलाई जित दिलाए।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्र गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार सङ्कटाका गोलरक्षक दीप कार्कीले रोके भने रजत तिवारीको प्रहार बारमाथि गएको थियो।
प्रतियोगिताको विजेता सङ्कटा क्लबले रु २६ लाख प्राप्त गर्यो भने उपविजेता बागमती प्रदेशले रु १३ लाख हात पार्यो। बागमती टिमको पुरस्कार राशिको प्रायोजन भोटेकोशी गाउँपालिका प्रमुख पासाङ नोर्वु शेर्पाले गरेका थिए।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए। उनले रु ७५ हजार पुरस्कार पाए। उदीयमान खेलाडी बागमतीका सन्दीप कार्की बने, जसले रु २५ हजार पाए। उत्कृष्ट गोलरक्षकको उपाधि बागमतीका विकेश कुथुले जिते।

विजयी टोलीलाई नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले पुरस्कार तथा मेडल वितरण गरे।
माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो। उपाधिसँगै पाउनुपर्ने पुरस्कार रकम खेलाडी र टिमले नगदै डालोमा राखेर पाएपछि उनीहरू अत्यन्त खुसी देखिन्थे

