Nepali Maan TV
'

बिना पैसा पैदल हिडेर नेपालको यात्रा गरिरहेका ‘सुदीप’


Author Image
शुक्रवार, फागुन २५, २०८० ८:०८

काठमाडौँ । उदयपुरका सुदीप खड्का । जो बिना पैसा करिब ३ महिना देखि नेपालभर पैदल हिँडिरहेका छन् । सुत्न र बस्न मिल्ने सामान र केही थान कपडा झोलामा राखी हातमा नेपालको झण्डा बोकेर उनी निरन्तर यसरी हिँडिरहेका छन् ।

पैदल हिँडेर नेपालभर घुम्ने भन्ने कुरा असम्भव जस्तै छ, त्यो पनि गोजीमा १ रुपैयाँ नबोकी । तर २२ वर्षिय सुदीपले त्यसलाई सम्भव बनाउने अठोटका साथ देशभरको यात्रामा निरन्तर हिँडिरहेका छन् । यो यात्रा निकै जोखिमपूर्ण छ, खाने बस्ने कुनै ठेगान छैन । त्यसमाथि कुनै सवारी साधनविना दुईखुट्टाको भरमा उनले यो जोखिमलाई शक्तिमा बदल्ने कोसिस गरिरहका छन् ।

उनी यो यात्रामा निस्केको करिब ३ महिना वितिसकेको छ । यो तीन महिनामा अहिले सम्म १७ भन्दा बढि जिल्लाहरू हिँडेरै पार गरिसकेका छन् । यो यात्रामा उनले निकै कठिनाईहरु भोगे, झेले । त्यो भन्दा बढि त देशका भूगोलहरु छुन पाए । सुगमदेखि दुर्गमसम्मका जीवन र मानिसहरुका भोगाइलाई नजिकबाट नियाल्न पाए । उनी भन्छन्, यात्रामा सबैको जीवन देख्दा आफुलाई निकै भाग्यमानी र सबै कुरा आफुसँग भएको अनुभव भएको छ।

पैदल यात्राका क्रममा उनी तराइका फाँटहरु, पहाडका उकाली ओराली र हिमालको त्यो उचाइसँग समेत परिचित बनिसकेका छन् । यात्राका दौरानमा मनकारी ब्यक्तिहरुले दिएको सहयोगले उनी खाना खान्छन्, अनि जहाँ रात पर्छ त्यहीँ सुत्छन्, फेरी उज्यालो भएपछि यात्रालाई निरन्तर अघि बढाउँछन् ।

त्यसो त, मान्छेको स्वभाव यस्तो हुन्छ कि, पैसा विना जीवन दुख र निरस छ, केही गर्न सकिएन भन्ने ठान्छन् । पैसाले मान्छेलाई खान, बस्न, घुम्न तथा अनेकन आवश्यकताहरुको परिपूर्ती गरिरहेको हुन्छ । तर, रित्तो गोजी सुदीप नेपालका सुन्दर एड्भेन्चरस ठाउँका यात्राहरु पैदलमार्फत नै गरिरहेका छन् । उनी जीवनको सुन्दर अनुभव बटुल्न र एउटा सुन्दर भविष्य खोज्न यसरी हिडिरहेका छन्।

सुदीपलाई यसरी पैदल यात्रा गर्ने अठोट र उर्जा यसअघि नै आएको थियो । उनले यस भन्दा अघि भारतको उत्तर प्रदेश र बिहार प्रदेशमा यात्रा यसरी नै यात्रा गरिरहेका थिए। तर त्यो यात्रा उनले सोचेजस्तो भएन । भारतको यात्रामा उनले निकै दुःख पाए । यात्राकौ क्रममा उनको मोवाइल समेत चोरी भएको थियो । हिडेरै यात्रा गर्ने लक्ष्यमा उनले भारत नभई आफ्नै देश नेपालको भूगोल सम्झिए । त्यसपछि आफ्नै देशसँग साक्षात्कार गर्ने लक्ष्य बोकेर सुदीप यो यात्रामा निस्किएका हुन् ।

भनिन्छ नि , आफ्नो मन र प्यासन भएपछि जे कुरा नी सम्भव हुन्छ भनेर। हो, उनले त्यही सोच अनुरुप विनापैसा देश भ्रमण गरिरहेका छन् । यो सुदीपको कथा मात्र नभई नेपाली युवाहरु को लागि एउटा गतिलो प्रेरणा पनि हो ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर