काठमाडौँ । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।
जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ । पुष १३ गते जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।
अदालतले बलात्कारमा परेकी गौशाला २६ नामकी किशोरी घटनाका बेला बालिग भइसकेको ठहर गरेको छ । सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन् ।
यो मुद्दामा दुवै पक्ष पुनरावेदनमा जाने निश्चित भएको छ । सरकारी वकिल पक्षले पीडित बालिग ठहर गरेकामा चित्त नबुझाएकाले पुनरावेदन जाने निश्चित छ । क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा चित्त बुझाएका छैनन् । २०७५ भदौ ५ गते क्रिकेटको बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित किहोरीलाई भेटेका थिए । त्यसपछि सन्दीपले किशोरीलाई नगरकोट घुमाएर फर्किएका थिए । नगरकोटबाट फर्किएपछि उनीहरु सिनामंगलस्थित एक होटलमा बास बसेका थिए । त्यस क्रममा सन्दीपले आफुमाथि बलात्कार गरेको भन्दै पीडित किहोरीले सन्दीप विरुद्ध बलात्कार मुद्धामा जाहेरी दिएकी थिइन् । उजुरी परेका बेला सन्दिप केन्यामा थिए । पछि उनीविरुद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्यो ।
केहीसमय गुमनाम रहेका सन्दीप प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए । जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई गतवर्ष पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । उच्च अदालतले विदेश जान रोक लगाएकामा सर्वोच्च अदालतले भने उनलाई विदेश जान पाउने आदेश दिएको थियो । त्यसपछि पनि सन्दीपले थुप्रै गेमहरु खेलेका थिए । विचमा थुप्रै क्रिकेट प्रेमीहरुको साथ र सपोर्ट समेत पाए । तर कानुनी रुपमा अदालतले विभिन्न प्रमाणहरुको आधारमा उनलाईदोषी ठहर गरेको थियो । अहिले घटनाको प्रकृतिको आधारमा अदालतले उनलाई ८ वर्षको जेल सजाय सुनाएको छ ।

