कोलकत्तामा ४० वर्ष जेल बसेपछि निर्दोष ठहरिएर नेपाल फर्किएका थिए, दुर्गाप्रसाद । मानसिक रुपमा विच्छिप्त उनलाई नेपाल ल्याएर उपचार गरियो तर अस्पतालको विल तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै बन्धक छन्, उनी ।
काठमाडौँ । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ६ महिनादेखि चितवन स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिन अस्पतालमा छन् । मानसिक रोगले थलिएका उनको उपचार त सफल भयो, तर उपचार बापतको शुल्क तिर्न नसकेपछि उनी अस्पतालमै बन्धक बनेर बसिरहेका छन् । उनी निको भएर पनि अस्पतालबाट निस्कन पाएका छैनन्, पैसा अभावका कारण । त्यसो त, उनले यो भन्दा ठूला दुख र पीडाका पहाडहरु झेलिसकेका छन् । जसले उनलाई मानसिक रोगी बनायो र आज अस्पतालसम्म पुर्यायो । उनी को हुन्, कसरी अस्पताल पुगे र किन उपचार बापतको खर्च तिर्न सकेनन् भन्ने कथा निकै मार्मिक छ ।

करिब ४३ वर्ष अघि अर्थात् २०३७ साल माघ महिनाको कुरा हो । इलामको लुम्बाकमा थियो, दुर्गाप्रसादको घर । उनका परिवार सामान्य खेती किसानी गरेर चलेको थियो । जति दुख गरेपनि खान लाउन मुस्किल पर्ने भएपछि दुर्गाप्रसादले रोजगारी गर्न भारत जाने सोचे र घरबाट निस्किए । त्यतिबेला उनी २० वर्षका मात्रै थिए । उनले घर छाडेर त निस्के, तर परिवारमा भने कसैलाई पनि म भारत जान्छु भनेर भनेका थिएनन् । दिनहरु वित्दै गयो । यता परिवारले उनी फर्किने आश मार्दै गए । तर, पैसा कमाउन भारत पसेका दुर्गा प्रसादलाई भने दिनदशाले अर्कै बाटो हिडायो । जब उनी घर छाडेर निस्किएका थिए, त्यही वर्ष उनलाई भारतको दार्जिलिङमा एक महिलाको हत्या गरेको आरोप लाग्यो । यो घटनामा उनी कुनै हिसावले पनि संलग्न थिएनन् । तर उनीमाथि झूठो आरोप लगाइयो र उनी जेल परे । उनी जेल परेको खबर पनि परिवारका कसैलाई पनि थाहा भएन । किनकी, परिवारले उनी हराए भनेर आश मारिसकेका थिए । नमारुन पनि कसरी ? उनी परिवारको सम्पर्कमै नआएकै ४० वर्ष भइसकेको थियो । तर एकाएक अचम्म भयो ।
२० वर्षको उमेरमा हराएका दुर्गाप्रसाद ४० वर्षपछि भारतको जेलमा रहेको थाहा भयो । २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारले उनलाई निर्दोष ठहर गरेपछि दुर्गाप्रसाद बल्ल फेला परे । २१ वर्षको उमेरमा जेल परेका दुर्गाप्रसादलाई ६४ वर्षको उमेरमा तिमी निर्दोष छौ भनेर अदालतले भनेपछि २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर उनलाई नेपालस्थित घर ल्याइयो । एक निर्दोष ब्यक्ति ४० वर्षसम्म जेल बस्दा उनको दिमागी हालत ठिक थिएन । उनी घर फर्किँदा कसैलाई पनि नचिन्ने, बेहोसीमा बोल्ने गर्थे । हुनपनि झुठो मुद्धामा लामो समय जेल बसेको र यातना पाएका कारण उनी मानसिक रूपमा विक्षिप्त थिए । उनको यो अवस्था देखेर आफन्तले उनको उपचार गरे, तर उनी ठिक भएनन् । त्यसपछि गत वर्ष आफन्तले उनलाई उपचारका लागि चितवनको खैरहनी स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा ल्याए । त्यहाँ उपचारका लागि उनलाई भर्ना गरियो ।

६ महिनाजति उपचार गरेपछि दुर्गाप्रसाद ठिक भए । डाक्टरले पनि अब घर लैजाँदा हुन्छ भने । तर उनलाई डिस्चार्ज गर्ने बेलामा अस्पतालको उपचार खर्च वापतको विल देखेर उनीहरु झस्किए । दुर्गाप्रसादको उपचारमा अस्पतालमा मात्रै ७ लाख १५ हजार रुपैयाँ खर्च भएको थियो । त्यतिका धेरै पैसा जुटाउन सक्ने उनका आफन्तको हैसियत थिएन । उनीहरुले जसोतसो रिनधन गरेर ३ लाख रुपैयाँ त बुझाए । तर बाँकी ४ लाख १५ हजार रुपैयाँको जोहो भने कसैगरेपनि हुन सकेन । त्यो त ६ महिना अघिको हिसाव हो । पछिल्लो ६ महिनामा विल कति पुग्यो भन्ने कुनै हिसाब छैन ।
दुर्गाप्रसादले भारतीय उच्च अदालतको आदेशबाट क्षतिपूर्ति वापत केही रकम प्राप्त गरेका त थिए । तर उक्त पैसा पनि यसअघि नै उपचारमा खर्च भइसकेको छ । अब पैसा आउने बाटो हुनै छैन ।
उनी नेपाल फर्किँदा घरमा बृद्ध आमा मात्रै थिइन् । अहिले उनै आमाको पनि निधन भइसकेको छ । अहिले उनी परिवारविहिन छन् । आफ्नो भन्ने दाजुभाइका छोराहरु मात्रै छन् । दुर्गाप्रसादलाई उनकै भतिजा गोपाल तिम्सिनाले रेखदेख र उपचार गरेका थिए । उनले पनि कसै गरेर नि पैसा जुटाउन सकेनन् र हार खाए । मानसिक सन्तुलन गुमाएका दुर्गाप्रसाद ठिक भएको ६ महिना भयो तर उपचार बापतको पैसा तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै छन् । अब यही पीरले उनी फेरी मानसिक रोगी बन्ने हुन् कि भन्ने चिन्ता आफन्तलाई छ ।
आफ्नो सिँगो जीन्दगी हुँदै नभएको झुठो मुद्धाका कारण जेलमा सडाएका दुर्गा प्रसाद आखिरी निर्दोष सावित भएर नेपाल त फर्के तर उपचार खर्च तिर्न नसक्दा अब उनको बाँकी जीवन अस्पतालमै सड्ने भएको छ ।

