Nepali Maan TV
'

अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’


Author Image
शनिवार, साउन ६, २०८० ७:३७

चितवन । जिल्लामा पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो ।

पछिल्लो समय सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाय प्रभावित भएका छन् । ती मध्ये नौ हजार दुई सय पाँच गाई र तीन सय ३६ भैँसी छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्याङ्क रहेको छ । तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको सङ्क्रमण देखिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हाल सम्म यस रोगका कारण दुई सय २९ वटा गाई मरेका छन् । सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम कालिका र खैरहनी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६५ , भरतपुर महानगरपालिकामा ३५, राप्ती नगरपालिकामा ६२ , रत्ननगर नगरपालिकामा ३५ , कालिका नगरपालिकामा १० , खैरहनी नगरपालिकामा १०  र माडी नगरपालिकामा १२ वटा गाई मरेका हुन ।

जिल्लाका तीन पालिकामा पालिएका १८ हजार ४० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, रत्ननगर नगरपालिकामा आठ हजार दुई सय ५० र राप्ती नगरपालिकामा छ हजार गाईभैँसीमा खोप दिइएको उनले बताए । विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरिएको छ । अन्य पालिकामा जैविक सुरक्षा अपनाउने र अन्य उपचारको काम भई रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर