काठमाडौं । लेनोभोका एआई फिचरले भरिपूर्ण ल्यापटपहरु नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक विक्रेता कम्पनीहरुले शुक्रबार काठमाडौँमा एक समारोहकाबीच ती ल्यापटपहरु नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।
लेनोभोको एक्सवान कार्वन, एक्सवान कार्वन योगा, थिंकप्याड एक्स वान टु इन वान लगायतका एआई फिचर समावेश ल्यापटपहरु नेपाली बजारमा उपलब्ध भएको लेनोभोका लागि नेपालको आधिकारिक वितरक सुरेश ज्ञवालीले जनाकारी दिए ।

खासगरी यी सबै ल्यापटपमा पूर्ण रुपमा टच स्कृन र एआई फिचर समावेश छन् । एआई फिचरका लागि लेनोभोले माइक्रोसफ्टसँग सहकार्य गरेको हो । कम्पनीले यसलाई अल्ट्राथिन र लाइटवेट एआई पीसीका रूपमा परिभाषित गरेको छ ।
प्रयोगकर्ताको कामलाई सहज बनाउन कम्पनीले यसमा विशेष किसिमका एआई एपहरू समावेश गरेको छ । यसमा विन्डोज एआई फिचर पनि समावेश गरिएको लेनोभो इण्डियाका जनरल म्यानेजर नविन केजरीवालले जानकारी दिए ।

१५.६ इन्च डिस्प्ले रहेको ल्यापटप स्न्यापड्रागन एक्स लाइट प्रोसेसरद्वारा सञ्चालित छ । यसलाई एक पटकको चार्जमा १८ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यी ल्यापटपहरुमा गुणस्तरीय ब्याट्री तथा कुलरहरुको प्रयोग गरिएको छ ।
त्यसो त भारतमा ३ महिना अघि नै लन्च भइसकेका यी ल्यापटपहरु एआईकै कारण बढी चर्चामा छन् । खासगरी एआई सपोर्ट गर्ने हाई इन्ड हार्डवेयर भएको र माइक्रोसफ्टका एआई फिचर एक्सक्लुसिभ रूपमा उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ ।

एआई प्रोसेसिङका लागि उत्कृष्ट ४५ न्युरल इन्जिन पनि प्रयोग गरिएको ल्यापटपमा ३२ जीबीसम्मको गुणस्तरीय र्यामहरु र १ टीबी पीसीएलई ४.० एसएसडी समावेश छ ।
यसमा एआईद्वारा सञ्चालित एआईसेन्स आईआर क्यामेरा राखिएको छ । यसले विन्डोज स्टुडियो इफेक्टको सुविधा दिने कम्पनीले जनाएको छ । उक्त क्यामेराले वातावरणको प्रकाशलाई आधार बनाई कति प्रकाश सोस्ने त्यो अनुसार एडप्टिभ डिमिङको सुविधा दिने बताइएको छ । त्यस्तै प्रयोगकर्ता कम्प्युटरमा आउनासाथ खुल्ने र टाढा जानासाथ बन्द हुने स्मार्ट लक एन्ड अनलकको सिस्टम पनि यसमा छ ।
भिडिओ कलका दौरान पोट्रेट मोड अन गर्न र ब्याकग्राउन्ड न्वाइज घटाउन पनि विन्डोज स्टुडियो इफेक्ट्सले सहयोग गर्ने कम्पनीले जनाएको छ । त्यस्तै यसमा स्केचहरूलाई स्तरीय आर्टवर्कमा परिणत गर्ने फिचर पनि दिइएको छ ।
यी ल्यापटपको मूल्य निकै सुलभ समेत रहेकाले नेपाली प्रयोगकर्ताहरुको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

