काठमाडौँ । ‘खेलाडीको वरियता निर्धारण सहितको बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता’ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना र जिल्ला समन्वय समिति काठमाडौंको संयोजनमा शनिबार नागार्जुन नगरपालिका-१० स्थित नागार्जुन कभर्डहल स्यूचाटारमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा बागमती प्रदेशबाट सहभागी भएका २७० जना खेलाडीमध्ये प्रथम द्धितीय तृतीय गरि उत्कृष्ठ ३ वरियता निर्धारण गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिती काठमाडौँका अध्यक्ष सन्तोष बुढाथोकीले अन्तराष्ट्रिय स्तरमा खेलाडीको वरियता निर्धारण नियमित प्रक्रिया भएपनि नेपालका लागि भने नौलो प्रयोग भएको बताए । यस प्रतियोगिताले सिँगो खेलकूद क्षेत्रलाई नयाँ आयाम दिँदै राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले यस प्रतियोगिताले खेलाडीको वरियता निर्धारणसँगै उत्कृष्ट खेलाडी उत्पादन र खेलाडीको मनोबल बृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा ब्यक्त गरे ।

उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ गत महिना नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं बीच २ वर्षका लागि सहकार्य गर्ने सम्झौता भएको थियो । काठमाडौँ भित्र रहेका ११ वटै नगरपालिकामा कार्यक्रम गर्ने तालिका अनुरुप शनिबार स्युचाटारमा प्रतियोगिता गरिएको हो । प्रत्येक ३, ३ महिनाको अन्तरमा वार्षिक ४ वटा कार्यक्रम आयोजना गर्ने कार्यतालिका रहेको छ ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, जिल्ला समन्वय समिती काठमाडौँका अध्यक्ष सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष मणी बहादुर चन्द, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, महासचिव हरिहर ढुंगाना, सचिव उमेश नकर्मी, प्राविधिक प्रमुख राजेश प्रजापती, नागार्जुन नगरपालिकाका वडा अध्यक्षहरु साथै बागमती प्रदेश तेक्वान्दो संघका १३ वटै जिल्लाका पदाधिकारीको उपश्थिती रहेको थियो ।

