Nepali Maan TV
'

हार्मोनी पोखराको आयोजनामा ‘अरुणा लामा र तारादेवी श्रद्धाञ्जली साँझ २०८०’ सम्पन्न


Author Image
आइतवार, माघ २१, २०८० ६:१५


पोखरा । पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनीले गत माघ १३ गते ‘अरुणा लामा तारादेवी श्रद्धाञ्जली साँझ २०८०’ भव्यताका साथ सम्पन्न गरेको छ । हार्मोनी पोखरा र एभरेष्ट एफएमको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सांगीतिक संयोजन हार्मोनीले गरेको थियो भने अन्य व्यवस्थापकीय संयोजन एभरेष्ट एफ एम ९३ मेगाहर्जले गरेको हो ।

समारोहमा १३ वटा गीत प्रस्तुत गरिएका थिए । जस मध्य २ वटा युगल गीत, अन्य एकल गीतहरु र मेडली गीत समेत प्रस्तुत गरिएको थियो । तारा देवी र अरुणा लामाको सदाबहार र कालजयी गीतहरुमा हार्मोनीका अध्यक्ष ईतु जोजिजू, उपाध्यक्ष कौशल्या गुरुङ्ग, कोषाध्यक्ष शीतल थापा अन्य सदस्यहरु मितु पाल सिंह, रजनी रिदम राई, अजुदा थापा तथा हार्मोनी सचिव लक्ष्मी गिरीले आफ्नो प्रस्तुती दिनु भएको थियो ।

हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजूको सानो मन्तब्य तथा तिम्रो माया पत्थरको बोलको गीत र युगल गीत तिम्रो नाम अझै छ ओठ मा बोलको गीतबाट सांगीतिक कार्यक्रमको सुरुवात गरिएको थियो । युगल गीतमा हार्मोनी पोखराका सल्लाहकार, प्रतिष्ठित गायक तथा जेई स्टुडियो एण्ड म्युजिक सपका कार्यकारी निर्देशक रामभक्त जोजिजूले युगल गायनमा साथ दिएका थिए ।

उक्त कार्यक्रममा वाद्यवादकहरु गितारमा संजीव पाल, किबोर्ड महिपाल लामा, तबला र ढोलकमा परविन्दर सिंह र राजा मुखिया, बेस गिटार तेज केसी र प्याडमा विजय क्षेत्रीले साथ दिएका थिए । कार्यक्रममा गीतकार , चलचित्र निर्देशक प्रकाश सायमीले अरुणा लामा र तारादेवीको बारेमा जीवनी प्रस्तुत गर्नुभएको थियो भने पानसमा दिप बालेर समाजसेवी तथा एभरेष्ट एफएमका अध्यक्ष कर्मा गुरुङ ले कार्यक्रम को उद्घाटन तथा अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

कार्यक्रम बेलुकी ५:३० बजेबाट सुरु भएर बेलुकी ७ः३० बजे सम्म खचाखच भीड र दर्शकको साथमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्य तिर गायिका अजुदा थापा र गायक रामभक्त जोजिजूसँगको युगल गायन कल कल सल सल बोल को गीतले दर्शकहरु लाई रोमाञ्चक गराएको थियो ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर