सुर्खेत । एक युवती, जसलाई नेपाल प्रहरीका जवानले विहे गर्ने आश्वासन देखाएर पटकपटक बलात्कार गरे । बलात्कार पछि गर्भ बस्यो तर उक्त गर्भ तुहियो । पछि फेरी पनि गर्भ बस्यो । तर सँगै मर्ने बाँच्ने कसम खाएका ति प्रेमी प्रेमीकाको गर्भ बसेपछि टाढिए । न्यायका लागि युवतीले अदातलको ढोका ढक्ढक्याइन् । तर उनले न्याय पाउन सकिनन् । यो कथा सुन्दा कुनै काल्पनिक फिल्म कहानी जस्तो लाग्छ । तर यो जाजरकोटकी एक युवतीको वास्तविक कथा हो ।
जारकोटकी २६ वर्षीया निरुको डेढवर्ष अघि बैतडीका २४ वर्षीय भूपेन्द्र ठगुन्नासँग चिनजान हुन्छ । उनीहरुको चिनजान टिकटकबाट भएको थियो । पछि उनीहरूबीच फेसबुक, ह्वाट्सएप र फोन नम्बरमा समेत नियमित रुपमा कुराकानी हुन थाल्यो। कुराकानी बढ्दै जाँदा सम्बन्ध मित्रताबाट प्रेममा बदलियो। दुवैले सँगै जीन्दगी बिताउने योजना समेत बनाए, त्यो पनि सामाजिक सञ्जालबाटै। त्यसो त भूपेन्द्र नेपाल प्रहरीका जवान थिए ।
भूपेन्द्रको दरबन्दी काठमाडौंको सर्वोच्च अदालतमा थियो। एकदिन भूपेन्द्रले निरुलाई काठमाडौं भेट्न बोलाए। सोही अनुसार निरु भूपेन्द्रलाई भेट्न गत मंसिर १५ गते सुर्खेतबाट काठमाडौं आइन् । काठमाडौं पुगेपछि केही दिन उनी गाउँकै साथीको कोठामा बसिन्। पछि भूपेन्द्रले हामी विहे गर्ने नै हो किन छुट्टै बस्ने संगै बसौँ भनेर आफ्नो बागबजार स्थित कोठामा सँगै बस्ने प्रस्ताव राखे । मायामा परेकी निरुले भूपेन्द्रको उक्त प्रस्ताव सहजै स्वीकारिन् । र दुवै जना सँगै बस्न थाले। त्यसपछि उनीहरु बीचमा शारीरिक सम्बन्ध समेत हुन थाल्यो । भुपेन्द्रले विहे गर्ने त होनी भन्दै बारम्बार यौन सम्बन्ध राखेपछि निरुको पेटमा गर्भ बस्यो । जब निरुको पेटमा गर्भ बस्यो भूपेन्द्रले निरुसँग टाढिने बहाना खोजे । उनले निरुलाई धम्की दिँदै गाउँ जान आग्रह गरे । भूपेन्द्रले काठमाडौँ नबस भनेपछि उनी गाउँ आएकी थिइन् तर गाउँ फर्किएको केही समयमा उनको पेटको बच्चा खेर गयो।
भूपेन्द्रलाई हाइसन्चो भयो । त्यसपछि फेरी भुपेन्द्रले बिहेपछि बच्चा जन्माउँला भन्दै फकाउन थाले । त्यसपछि पनि उनीहरूबीच समयसमयमा कुराकानी भइरहन्थ्यो । भूपेन्द्रले निरुलाई लाई सान्त्वना दिइरहन्थे। यतिकैमा गएको बैशाख १ गते भूपेन्द्र १५ दिनको बिदा लिएर नयाँ वर्ष मनाउन सुर्खेत आए। यता निरु भने सुर्खेतमा कोठा भाडामा लिएर लोक सेवाको तयारी गरिरहेकी थिइन्। नयाँ वर्षमा सुर्खेत आएका भूपेन्द्र दुई दिनसम्म उनकै कोठामा बसे। निरुको कोठामा दुई दिन बसेर भूपेन्द्र सुदूरपश्चिम गए। त्यसपछि फेरी निरुको गर्भ बस्यो । यो खबर थाहा पाएपछि भुपेन्द्र फेरी निरुसँग टाढिन थाले । यसपटक भुपेन्द्र गायव जस्तै भए ।
भूपेन्द्रलाई सम्पर्कमा ल्याउन उनले भूपेन्द्रको परिवार र आफन्त गुहारिन् । तर उनका आफन्तहरूले समेत उल्टै धम्की दिन थाले। त्यसपछि पीडित िनरु ले मंसिर ४ गते भूपेन्द्रविरुद्ध वैवाहिक आश्वासनमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन्। त्यसपछि भूपेन्द्रलाई प्रहरीले पक्राउ गर्यो। निरुले बताए अनुसार भुपेन्द्र प्रहरी कर्मचारी भएकाले उनलाई मुद्दा फाँटका प्रहरीले केही रकम लिएर मिल्न भन्दै दबाब दिएका थिए । त्यसका लागि उनलाई प्रहरीले दिनदिनै कार्यालयमा बोलाउने गर्थे । तर निरु मानिन् । उनले आफूसँग भएका प्रमाणहरू सरकारी वकिललाई दिइन्।
मंसिर २५ गते जिल्ला अदालत सुर्खेतमा थुनछेक बहस भयो। इजलासमा जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखले नै बहस गरिरहेका थिए। बहसमा ती वकिलले निरुले दिएका कुनै प्रमाण पनि अदालतमा प्रूतुत गरेनन् । ती सरकारी वकिलले उल्टै भुपेन्द्रलाई छुट्न सजिलो हुनेगरी बहस गरे । यता भूपेन्द्रले समेत न्यायाधीशकै अगाडि निरुलाई गाली तथा बेइज्जती गरे। अरु त अरु उनका वकिलले पनि निरुलाई चरित्रहीन भन्दै विभिन्न आरोप लगाएपछि निरुले अदालतको इजलासमै विष पिइन्।
त्यसपछि अदालतले प्रमाण नपुग्ने भन्दै भूपेन्द्रलाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दियो। निरु भन्छिन् , मैले दिएको प्रमाण अदालतमा पेश भएको भए भूपेन्द्र अहिले थुनामा हुनेथिए । तर उनको पक्षमा बोलीदिने कोहीपनि भएनन् । र उनको यो सब सहन नसकी इजलासमै विषयसेवन गरिन् । उनलाई प्रहरीले तत्कालै कर्णाली प्रदेश अस्पतालमा भर्ना गर्यो। डिस्चार्ज भएर उनी अहिले न्यायको लागि हारगुहार गरिरहेकी छन्।

