Nepali Maan TV
'

७ महिनाकी गर्भवती महिलामाथि जबरजस्ती करणी, पीडक सहित पीडितका श्रीमान् र देवर पक्राउ


Author Image
बिहिवार, पौष १९, २०८० २:२६

बाजुरा । बाजुरा स्थित हिमाली गाउँपालिका-३ की ३५ वर्षीया एक गर्भवती महिलाले आफुमाथि गाउँकै जंगसिंह बुढा नामका युवकले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । ७ महिने गर्भवती पीडित दलित महिलाले जिल्ला प्रहरी कार्यालय बाजुरामा आफुमाथि पुष १० गते राती जबरजस्ती करणी भएको भन्दै जाहेरी दिएकी छन् । सो जाहेरीपछि प्रहरीले पीडक भनिएका हिमाली गाउँपालिका-३ का जंगसिंह बुढा लाई पक्राउ गरेको छ । उनलाई पुस १३ गते साँझ पक्राउ गरिएको हो।

सो घटनापछि आरोपी जंगसिंहले आफुमाथि कुटपिट भएको भन्दै पीडित महिलाका श्रीमान् र देवर विरुद्ध ज्यानमुद्धामा उजुरी दिएका छन् । उक्त उजुरीपछि प्रहरीले पीडित महिलाका श्रीमान् र देवरलाई पनि पक्राउ गरेको छ । पीडित महिलाले श्रीमान र देवरलाई झुटो आरोप लगाएर प्रहरीले नियन्त्रणमा लिएको बताउँदै आएकी छन्। तर प्रहरीले भने ज्यान मार्ने उद्योगमा जाहेरी आएपछि पीडितको श्रीमानलाई पक्राउ गर्न बाध्य भएको जवाफ दिएको छ । अहिले यो घटनाले बाजुरा तातेको छ ।

पीडितले बताए अनुसार यस्तो छ घटनाको कहानी
घटना यही पुष पुस १० गतेको हो । बाजुराको हिमाली गाउँपालिका ३ की ३५ वर्षीया आशा (नाम परिवर्तत) तीन सन्तानलाई च्यापेर सुतिरहेकी थिइन्। त्यस दिन गाउँमा जात्रा थियो । आशाका श्रीमान जात्रा हेर्न गएका थिए। राती श्रीमान् आए भने थाहा नहोला भनेर उनले ढोका ढेपेर मात्र सुतेकी थिइन्। तर राती करिब १ बजेतिर एक्कासी उनलाई कसैले आफ्नो शरीर छोइरहेको जस्तो महशुस भयो । मस्त निद्रामा रहेकी आशा बिउँझिइन्।

उनी विउँझिँदा कसैले उनको सुरुवाल खोलेर जबरजस्ती करणी गर्न लागेको थियो । उनी चिच्याइन् । तर ती ब्यक्तिले आशाको मुख थुनेर जबरजस्ती करणी गरे । ती ब्यक्तिले उनको हात समातेर खुट्टाले पेटमाथि च्यापेका थिए । त्यसो त आशा गर्भवती थिइन् । उनको गर्भमा ७ महिनाको गर्भ हुर्किँदै थियो । गर्भावस्थाको पेटमा ती ब्यक्तिले खुट्टाले शरीर च्यापेकाले उनले प्रतिकार गर्न सकिनन्। उनले जसोतसो उताउता हात लम्काइन् । कसोकसो गर्दा चिम्टा र हँसिया भेटियो । उनले त्यही चिम्टा र हँसियाले उक्त पुरुषमाथि प्रतिकार गरिन् । त्यसपछि ती पुरुषले उनको मुखमा थिचेको हात छोडे । आशा निकै चिच्याइन् । त्यसपछि आसपासका छिमेकीहरु के भयो भन्दै त्यहाँ आइपुगे । त्यतिबेला ती पुरुष भागिसकेका थिए ।

आशामाथि यसरी जबरजस्ती करणी गर्ने ती पुरुष थिए सोही गाउँका जंगसिंह बुढा । घरमा गर्भवती श्रीमती जबरजस्ती करणी भएको थाहा पाएपछि आशाका श्रीमान् हतासहतार घर आइपुगेका थिए । त्यसदिन मानिसहरू भेला हुँदाहुँदै उज्यालो भयो। बिहानपख गाउँभरीमा मानिसहरू भेला भएर उनीहरुलाई मेलमिलाप गर्न आग्रह गरे । तर आशाले मानिन् । किनकी उनीमाथि पासविक रुपमा बलात्कार भएको थियो । गर्भवती महिला, त्यसमाथि उनको पेटमा रहेको बच्चामा समेत असर परेको थियो । सरसर्ती हेर्दा यो आशामाथिको जघन्य अपराध थियो । गाउँका सबैले मेलमिलाप गर्न दबाब दिएपनि उनले कुनैपनि हालतमा मेलमिलाप नगर्ने अडान लिइन् । यति ठूलो अपराधको घटना घट्दा पनि आशा र उनका श्रीमान् नीरिह जस्तै थिए । के गर्ने कसो गर्ने उनीहरु सोच्न सकिरहेका थिएनन् । किनकी उनीहरु दलित समुदायका थिए भने पीडक कथित उपल्लो जातका ब्यक्ति थिए । त्यसैले गाउँमा उनीहरुले जे भन्यो त्यही चल्थ्यो । यो हल्ला गाउँभरी फैलिसकेको थियो ।

यति ठूलो अपराधमा पनि पीडित निरिह देखेपछि जिल्लाका केही दलित युवाहरुले आशा र उनका श्रीमान्लाई प्रहरीमा उजुरी गर्न सुझाए । त्यसपछि आशाले आफु कानुनी लडाइँ लड्ने साहस बोकेर दलित युवाहरूकै साथमा उनी २ दिन हिँडेर जिल्ला सदरमुकाम आइपुगिन् । तर विडम्बना प्रहरीले गाउँमा हिसाबकिताब नमिलेर जाहेरी दिन आउनु भएको भन्दै उनको उजुरी नै लिन मानेन । उनले पटकपटक आफूमाथि बलात्कार भएको घटना प्रहरीसामु सुनाइरहिन् । तर पनि प्रहरीले पत्याएनन् । उनी प्रहरीकोमा पुगेको साढे तीन घन्टापछि अभियन्ताको दबाबमा साँझ ६ बजे बल्ल प्रहरीले जाहेरी दर्ता गर्यो ।

जाहेरी दर्ता भएपछि पुष १५ गते जंगसिंह बुढा पक्राउ परे । तर घटनाले फेरी अर्को मोड लियो । पक्राउ परेका उनै जंगसिंहले उल्टो पीडीत महिला आशाका श्रीमन् र उनको देवरले आफुमाथि कुटपिट गरी ज्यान मार्न लागेको भन्दै उल्टो उनीहरु माथि जाहेरी हाले । एक बलात्कारमा परेकी महिलाले प्रमाणसहित जाहेरी दिन आउँदा जाहेरी लिन इन्कार गरेको बाजुरा प्रहरीले पीडकले दिएको जाहेरी चाहीँ सजिलै दर्ता गर्यो । र अहिले बलात्कारमा परेकी पीडित आशाका श्रीमान् र उनका देवरलाई प्रहरीले पक्राउ गरेको छ ।

यस घटनामा आशाले आफ्नो श्रीमान र देवरलाई झुटो आरोप लगाएर प्रहरीले नियन्त्रणमा लिएको बताउँदै आएकी छन्। खासमा बलात्कारको आरोप लागेका जंगसिंहलाई प्रतिकार गर्दा आशाले हँसिया र चिम्टाले हानेकी थिइन् । तर जंगसिंहले उल्टो आशाका श्रीमान् र देवरले कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिए ।


जंगसिंहविरूद्ध ७ महिनाको गर्भवती दलित महिलालाई बलात्कार गरेको जाहेरी छ भने पीडक जंगसिंहले पीडितका श्रीमान र देवरविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्। अहिले यी दुवै मुद्दा दर्ता भएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर