काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो।
राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेकै बेला लामिछानेमाथि गत वर्ष भदौ २२ गते जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। ०७९ भदौ ५ गते काठमाडौंको एक होटेलमा सँगै बसेको र आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले जाहेरी दिएकी थिइन्।
अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा गत वर्ष १४ कात्तिकमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो। क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेकै बेला जाहेरी परेपछि केही समय सम्पर्कविहीन भएका लामिछाने ०७९ असोज २० गते नेपाल फर्किएका थिए।
दोषी ठहर भएका लामिछानेको सजाय निर्धारणका लागि भने अदालतले अर्को पेशी तोकेको छ।

